आज बुधवार गरिएको नेपाल बन्दको प्रभाव सुदुरपश्चिम प्रदेशमा पनि देखिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले बुधवार नेपाल बन्दको घोषणा गरेका थिए । सोही घोषणा अनुसार सुदुरपश्चिम प्रदेशमा पनि सार्वजनिक सवारी साधनहरु ठप्प रहनुका साथै शैक्षिक संस्थाहरु समेत बन्द रहेका थिए । यसैविच कञ्चनपुरमा पनि एमसीसीको विरोधमा बुधवार प्रदर्शन गरिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित विभिन्न ६ दलहरूले सामुहिक रूपमा आह्वान गरेको नेपाल बन्दलाई समर्थन गर्दै केही युवाहरूले समेत स्वस्फूर्त रूपमा टायर बालेर सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । कञ्चनपुरका महेन्द्रनगर बजार लगायतका केही बजार क्षेत्र समेत बुधवार बन्द रहेका थिए ।
यसैविच एमसीसीको विरोधमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ समेत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी कञ्चनपुर र वाईसियल नेपाल कञ्चनपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, नो एमसीसी लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त प्रदर्शनका बेला कुनै अप्रिय घटना नहोस् भन्ने उद्येश्यले पर्याप्त सुरक्षाकर्मीहरु परिचालित समेत गरिएको थियो ।
यस्तै कैलाली जिल्लामा पनि बन्दको प्रभाव देखिएको जनाइएको छ । साथै कैलालीमा बुधवार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त शंकास्पद वस्तु बम नभएको पनि प्रहरीले जनाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो ।