प्रेम एक पवित्र अनि प्यारो शब्द
केही प्रेमसंग सम्बन्धित मुक्तकहरु
ओम प्रकाश पाण्डेय ( उमाकान्त)
धेरै कुरा गरिन्छ माया अनि प्रेमका बारेमा तर खासमा प्रेम वा भनौँ मायालाई ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कहा सकिन्छ र । भनिन्छ दुई मनको मिलन हो प्रेम, दुई आत्माको मिलन हो प्रेम, खैर जे होस् प्रेम शब्द आफैमा पवित्र अनि प्यारो शब्द हो भन्नेमा भने सायद दुई मत नहोला । आखिर के भएपछि कसैप्रति प्रेम भावना छ भन्ने बुझिन्छ ? आखिर कसरी विश्वास दिलाउन सकिन्छ कि मेरो कसैप्रतिको भावना प्रेम हो वा होइन् भनेर ? यी र यस्ता धेरै प्रश्नहरु अचेल मनमा आउने गरेका छन् ।
सायद त्यही भावना र केही अनुभवले मुक्तक लेख्ने कोशिस गर्दै छु । तीमध्ये केही मुक्तक यस प्रकार छन् ः
१)
एकतर्फी प्रेम नगर्नु मेरो सुझाव छ ।
उसकै लागी नमर्नु मेरो सुझाव छ ।
टाढा भए पनि हुन्छ माया गाढा पार्न
सधै नजिकै नसर्नु मेरो सुझाव छ ।
२)
मलाई एक्लो पारे पनि तिमि सधैं खुसी हुनु
तड्पाई तड्पाई मारे पनि तिमि सधैं खुसी हुनु
सुनेको थिए मायाको खेलमा सधैं जीत हुँदैन भनि
यो खेल मैले हारे पनि तिमी सधैं खुसी हुनु
३)
तिमीलाई आफ्नो मान्नै थिएन मानेर बिग्र्यो
लाखौं मध्ये तिमीलाई छानेर बिग्र्यो
तिमीले त पहिल्यै भनेकी थ्यो नि म तिम्री हुँदिन भनि
तै पनि सधैं आफ्नै ठानेर बिग्र्यो ।
४)
मेरो जस्तै उसको तिमी मन पाउदिनौ ।
मायाँ संग साट्न तिमी धन पाउदिनौ ।
कसले भन्छ शरीर भोगी मात्रै हुन्छ भनी
चोखो अनि शुद्ध तिमी तन पाउदिनौ ।
५)
इमानै बेची कमाएको धनले के गर्नु ।
अर्कैसँग गासिएको मनले के गर्नु ।
भित्रै बाट अपवित्र भएपछि त्यो दील
सुन्दर देखिने त्यो तनले के गर्नु ।