कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताउनु भयो । उहाका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौतानुसार निर्माण सुरु भएको छ । अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन् । ती मेसिनको मूल्य एक करोड २५ लाख रहेको छ । महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ । डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले बताउनु भयो । उहाका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै सय बढी मिर्गौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन् । यसैगरी अस्पतालमा जडान हुने दुईवटा अक्सिजन प्लान्टमध्ये एक प्लान्ट जडान भई उत्पादन सुरु भएको छ । अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ ।

सम्बन्धित

Comments are closed.