डिभिजन वन कार्यालय कञ्चनपुरले प्रक्रिया पुरा नगरी वनक्षेत्र भित्र सडक निर्माण लगायत विभिन्न विकास निर्माणका योजनाहरु सञ्चालन भई रहेको भन्ने विषयप्रति आफ्नो ध्यानाकर्षण
डिभिजन वन कार्यालय कञ्चनपुरले प्रक्रिया पुरा नगरी वनक्षेत्र भित्र सडक निर्माण लगायत विभिन्न विकास निर्माणका योजनाहरु सञ्चालन भई रहेको भन्ने विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय वन क्षेत्र भित्र वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मुल्यांकन प्रक्रिया पुरानगरी सडक निर्माण लगायत विभिन्न विकास निर्माणका योजनाहरु सञ्चालन भई रहेको भनी सञ्चार माध्यमहरु र जनस्तरबाट समेत समयसमयमा विभिन्न जनगुनासाहरु आई रहेकाले आफ्नो ध्यानाकर्षण भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका विभिन्न पालिकाहरुलाई डिभिजन वन कार्यालय कञ्चनपुरले पत्र नै लेखेर यस विषयमा ध्यानाकर्षण गराएको हो । पत्रमा राष्ट्रिय वन क्षेत्रमा सडक तथा अन्य भौतिक संरचना निर्माण गर्दा वातावरण संरक्षण ऐन २०७६ ले व्यवस्था गरेको प्रावधान पुरा गरी वन ऐन २०७६ को दफा ४२ अनुसार नेपाल सरकारको स्वीकृति लिएर मात्र प्रयोग गर्न पाउन कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । साथै कञ्चनपुरका पालिकाहरुलाई पालिकाहरुले सञ्चालन हुने÷ भई रहेका सडक निर्माण लगायत अन्य योजनाहरु तुरुन्त रोक्न डिभिजन वन कार्यालय कञ्चनपुरले पत्रमा भनिएको छ । यस्तै डिभिजन वन कार्यालय कञ्चनपुरले कानुनी प्रावधान पुरा गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । साथै अनुगमनको क्रममा सो प्रावधान पुरा नगरी त्यस्ता कार्यहरु (योजनाहरु) सञ्चालन भई रहेको पाइएमा वन ऐन २०७६ को दफा ५० (३) बमोजिम कारबाही गर्न बाध्य हुने समेत डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।