सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार कैलालीको धनगढीमा हुने

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार कैलालीको धनगढीमा हुने भएका छ । पाँचौ संस्करणको उपाधिका लागि शनिबार पूर्व च्याम्पीयन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुँदैछ । जसका दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन । मनाङले गोल्डकपमा पाचौं संस्करणसम्म सहभागी रहेको छ । पहिलो संस्करणको च्याम्पीयन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ । फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । पहिलो सहभागीतामा उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ । मनाङका कप्तान अञ्जन विष्टले फाईनलमा आफुलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भएपनि जितका लागि खेल्ने बताउनु भयो । साथै उहाले हरेक खेलमा जितका लागि मैदानमा उत्रिएको र फाइनलमा पनि आफुहरु दबाब बिना खेल्ने बताउनु भयो । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफुहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लगाउने मौका हुने बताउनु भयो । साथै उहाले खेलाडीलाई केहिदिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताउनु भयो । फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भएपनि आफुहरु फाइनलका लागि तयार रहेको बताउनु भयो । उहाले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताउनु भयो । तर फाइनलमा आफुहरु जितका लागि नै खेल्ने बताउनु भयो । ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो । खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाईनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो । समापन समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रहनु हुने छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख रुपैया नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.