बैतडीको दोगडाकेदार गाउँपालिकामा कालाजारका बिरामी फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउपालिका वडा नम्बर ५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको संक्रमण देखिएको हो । कैलालीको धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनु भयो । ती महिलामा कालाजार पुष्टि भएपछि सरकारको नीतिअनुसार उहाको सम्पर्कमा रहेकाहरूको परीक्षण गरिएको जोशीले बताउनु भयो । उहाले कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार आफुहरुले छेउछाउका २१ जनाको नमूना संकलन गरेर परीक्षण गरेका बताउनु भयो । स्वास्थ्य कार्यालय बैतडीले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयहरूको कालाजार परीक्षण गरेको हो । नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनु भयो । रिपोर्ट नेगेटिभ आएपछि उक्त गाउँमा कालाजार नरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कालाजार भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ । कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु लगायतका लक्षणहरु देखा पर्दछन् । स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइबाट कालाजार सर्ने गर्दछ । भुसुनाको टोकाइबाट बच्नु नै यसको सङ्क्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन् । साँझदेखि बिहानसम्म कालाजार सार्ने भुसुना सक्रिय हुने हुनाले सकेसम्म उक्त समयमा बाहिर ननिस्कने, बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसमअनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने‚ लुगाले नढाकिएको भागमा किरा भगाउने मल्हम लगाउने, झ्यालढोकामा जाली लगाइएको वा एयरकन्डिसन भएको स्थानमा बस्न स्वास्थ्यकर्मीको सुझाव छ । स्यान्ड फ्लाई नामका भुसुना लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् । त्यसैले सुत्ने वा विश्राम गर्ने स्थानमा किरा मार्ने विषादी छर्कने, झ्यालढोकामा जाली नलगाइएको वा एयरकन्डिसन नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
Comments are closed.