रंगहरुको पर्वका रुपमा मनाईने होली पर्व आज एकादेशीदेखि सुरु भएको छ । फागुन पुर्णिमासम्म धुमधामका साथ मनाइने होली पर्व एकादेशीदेखि प्राय सुरु गरेको छ । यद्यपि कैलाली र कञ्चनपुरमा बाहुल्यता रहेको राना थारु समुदायमा भने फागुन पुर्णिमा भन्दा एक महिना पहिलेदेखि जिन्दा अर्थात जिउदो होली र पुर्णिमा पश्चात थप एक हप्ता मरी होली अर्थात मृत होली पर्व मनाइने गरीन्छ । बसन्त ऋतुमा मनाइने होली पर्वलाई हर्ष र उल्लासको पर्वका रुपमा पनि मनाइन्छ । होली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरुले बिषेश आपसी सद्भावका साथ मनाउने गर्दछन । होलीलाइ रङ्गहरुको पर्वका रुपमा पनि लिइन्छ । नेपाली सस्कृतिलाई झल्काउने बिभिन्न पर्वहरुमध्य होली पर्व पनि एक महत्वपूर्ण पर्व हो । होली पर्वमा माया र सद्भाव साट्दै एकआपसमा विभिन्न रंगका रंगहरु लगाउने चलन रही आएको छ । फागुन पुर्णिमा दिन होलिकाको दहन अर्थात होलिकाको प्रतिमा जलाई सकेपश्चात थप हर्षाेल्लासका साथ होली पर्व मनाउने गरीन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रगिंएर हर्सोउल्हासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवतीहरु हातमा रङ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ । होली पर्वको आफ्नै धार्मिक तथा मौलिक महत्व पनि रहेको छ । असत्यमाथि सत्यको विजय भएको र भगवान विष्णुका परम भक्त प्रह्लादलाई मार्ने कोसिस गर्दा आफै आगोमा जलेर नष्ट भएकी उहाकी आफ्नै फुपु होलिकाको दहन भएको खुसीयालीमा समेत होली पर्वलाई लिइन्छ ।यस्तै, भगवान विष्णुको नरसिंह अवतारको वर्णन, प्रहलाद घटनाक्रमसँग होलि पर्व जोडिएको छ । यस्तै, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक रुप भगवान श्रीकृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको थियो भन्ने कथन रहेको छ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउने र पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रगं पनि रहेकोले होली पर्वमा एकअर्कासंग रंग लगाएर होली पर्व मनाउने गरीएको धर्मशास्त्रका जानकारहरुले बताएका छन् । होली पर्व विभिन्न रंगहरुको तथा विभिन्न अन्य वस्तुहरुको समेत प्रयोग गरेर मनाइने हुदा स्वास्थ्य क्षेत्रका जानकारहरुले स्वास्थ्य सर्तकता अपनाएर होली पर्व मनाउनु पर्नेमा जोड दिएका छन् । साथै होली पर्वका बेला हुन सक्ने विभिन्न सम्भावित आपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनि रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लाल बहादुर बमले योजना बनाई रहेको र केही दिनमा नै सो सुरक्षा योजना लागु हुने शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।