कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ । मुल्य उन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडीको आवरण भन्ने मूल नाराका साथ लालझाडी खेलमैदान कञ्जमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको हो । लालझाडी गाउँपालिकाको आयोजना तथा श्री रामेश्वर मावि चान्देवको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरूमा प्रतिस्पर्धा गराइएको रामेश्वर माविका प्रधानाध्यापक राम प्रसाद जोशीले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शारदा राष्ट्रिय मावि प्रथम भएको छ । यसैगरी, सरस्वती मावि द्वितीय र रामेश्वर मावि तृतीय भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका भित्र सञ्चालित मावि तहका विद्यालयहरू मध्ये ६ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहेको थियो । आउँदो वर्ष शारदा माविले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको व्यवस्थापक विद्यालय रामेश्वर मावि चान्देवका व्यवस्थापन समितिका अध्यक्ष एवं लालझाडी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष फुलाराम चौधरीको अध्यक्षतामा प्रतियोगिताको समापन समारोह आयोजना गरिएको हो । उक्त समारोहका प्रमुख अतिथि समेत रहनु भएका लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले प्रतियोगितामा उत्कृष्ट हुने र सहभागिता जनाउने सबै विद्यालयको प्रशंसा गर्नु भयो । साथै शैक्षिक गुणस्तरमा लालझाडी गाउँपालिकाले निकै सुधार गरेको दाबी गर्नुभयो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्ध राज भट्टले प्रतियोगिताबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुगेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.