नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने बताउनुभएको छ ।पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज सोमवार कैलालीको धनगढी पुग्नुभएका अध्यक्ष दाहालले गेटा विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको भाग माग्नुभएको र त्यसको विषयमा माधव नेपालसँग पनि छलफल गरी केही मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन, प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र मबीचको छलफलमा कांग्रेसलाई सहभागी गराउने कुरा भएको छ, मन्त्रालय थप गरी कांग्रेसलाई पनि सहभागी गराउन एक खालको सहमति भएको छ ।’
अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी पार्टीले केही मन्त्रालय छोड्न तयार हुनुपर्ने बताउनुभयो । अहिले ११ सदस्यीय मन्त्रिपरिषद् रहेको सुदूरपश्चिममा चार मन्त्री र तीन राज्यमन्त्री गरी सात जना एकीकृत समाजवादी पार्टीका मन्त्री रहेका छन् । माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जना मन्त्री रहेका छन् ।
Comments are closed.