भारतले महाकाली नदीको वहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा दुई देशका अधिकारीबीच छलफल
भारतले महाकाली नदीको वहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा दुई देशका अधिकारीबीच छलफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्लाका डिएम आशिष चौहानबीच भारतको धारचुलामा भेटवार्ता भएको हो । पिथौरागढका डिएम चौहन धारचुला आएकाबेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भेटेर सीमा नदी महाकालीको भारततर्फ खोतिला क्षेत्रमा निर्माण भइरहेको तटबन्धका विषयमा कुराकानी भएको बताइएकोछ । भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर स्थानीयस्तरमा तनाव उत्पन्न हुँदा समेत सरकारले प्रतिक्रिया जनाएको छैन् । भारतीय पक्षले सीमा क्षेत्रमा संरचना निर्माण गर्दा समन्वय गर्ने जनाए पनि आफुखुसी नेपालतर्फ जोखिम हुनेगरी तटबन्ध निर्माण कार्य एकलौटी ढंगले गर्दैैआएको स्थानीयको आरोप छ । तटबन्ध निर्माणको विषयमा केहि दिनदेखि उत्पन्न विवाद समाधान र आफ्नै क्षेत्रमा तटबन्ध निर्माण गर्ने कुरामा भारतीय पक्षले सकारात्मक जवाफ दिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
Comments are closed.