दार्चुलामा रहेको नेपाल–भारत जोड्ने सीमापुल खुल्ने पुरानै समय कायम

दार्चुलामा रहेको नेपाल–भारत जोड्ने सीमापुल खुल्ने पुरानै समय कायम गरिएको छ । यसअघि सीमापुल खुल्ने समय घटाउँदा विभिन्न समस्या भएको भन्दै नेपाल र भारत दुबै देशतर्फका स्थानीय र व्यापारीले पुल खुल्ने पुरानै समय कायम गराउन माग गर्दैआएका थिए । नेपाल–भारत सीमापुल खुला रहने समय विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कायम गर्न भारतीय पक्ष तयार भएकाले अबदेखि सीमापुल बेलुकी ७ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । दुई देशका प्रशासन प्रमुखबीच पुल खोल्ने र बन्द गर्ने समयका विषयमा भएको छलफलपछि मंगलबारदेखि विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म झोलुंंगे पुल खुल्ला रहने उहाँले बताउनुभयो । भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाउँदै चैत्र १ गतेबाट विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पुल खुल्ला रहने जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको भारतसँग जोडिएका सीमानाका खुल्ने पुरानै समय कायम नहुदाँ सीमाक्षेत्र वारपार गर्नेहरु समस्या झेल्दैआएका थिए । कोरोनाका कारण सीमानाका बन्द हुनुभन्दा पहिला भारतसँग जोडिएको दार्चुलाका सीमापुल प्रत्येक विहान ७ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेकोमा कोरोना महामारीपछि बेलुकी ५ बजे नै पुल बन्द गर्ने गरिएको थियो । दार्चुलामा नेपाल र भारत जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा छन् । व्यास गाउँपालिका –१ सीतापुल, वडा ५ को तिग्रम, महाकाली नगरपालिका–४ को खलंगा, वडा ९ को दत्तु, मालिकार्जुन गाउँपालिका –७ को जोलजिवि र लेकम गाउँपालिका –३ को लाली सीमापुल सञ्चालनमा रहेका छन् । तुइन विस्थापन कार्यक्रम अन्तर्गत थप दुई वटा पुल निर्माण भइसकेको र दुई वटा पुलको निर्माणकार्य जारी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.