कञ्चनपुर कैलाली सहित देशभर होली पर्वको रौनक

कञ्चनपुर कैलाली सहित देशभर होली पर्वको रौनक बढेको छ । रगंहरुको पर्वका रुपमा मनाइने होली पर्वलाई विभिन्न धार्मिक कथनहरुसंग समेत जोडेर हेरिन्छ । भगवान बिष्णुका परमभक्त प्रह्लादलाई जलाउन भनि आगोमा गएकी होलिका आफै जलेर नष्ट भएकी र सोही खुसीयालीमा होली पर्व मनाउन थालिएको हो भन्ने धार्मिक कथन पाइन्छ । त्यस्तै भगवान कृष्णले राक्षसनी पुतनालाई मार्नुभएको र पुतना मरेको खुसीयालीमा होली पर्व मनाउन थालिएको हो भन्ने धार्मिक कथन पनि रहेको छ । होली पर्व मनाइ रहदा कुनै गलत क्रियाकलापहरु नहुन भन्नका लागि प्रहरीले पनि सर्तकता अपनाएको छ । कञ्चनपुरमा पनि प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वलाई सद्भावपुर्ण तरिकाले अरुलाई असहज नहोस् भन्ने किसिमले मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले होली पर्वलाइ सभ्य रुपमा सम्पन्न गर्नका लागी विभिन्न सुरक्षा रणनीती अपनाएको जनाएको हो । होली पर्वमा गलत क्रियाकलाप हुन सक्ने सम्भावना भएकोले विशेष सुरक्षा रणनीती अपनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ दल्ने, लोला तथा पानी छ्याप्ने अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत मीना जोशीले एक सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा जिल्लाबासीलाई शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल् न आग्रह गर्नु भएको हो । ‘चाडपर्व मनाउने नाममा कुनैपनि अवाच्छित गतिविधिहरु जस्तै कोही कसैको ईच्छा विपरित जथाभावी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरुमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्ला बासीमा हार्दिक अपिल गर्दछ’, सूचनामा उल्लेख गरिएको छ । चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।
यसैविच होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको हो । होली पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए कानुनी कारवाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले चेतावनी दिएको छ । साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.