कञ्चनपुरमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिए

कञ्चनपुरमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका बताउदै निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीले कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने जानकारी दिनु भयो । एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उहाले बताउनु भयो । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ । अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या दुई लाख ९७ हजार ३४१ रहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.