सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोनाको सक्रमणदर ओरालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोनाको सक्रमणदर ओरालो लाग्दै गएको छ । कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण ओरालो लाग्दै गएको हो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम रहेको छ । हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मङ्गलबार र बुधबार एक÷एकजनामा, बिहीबार दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो । त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेको थियो । हाल भने सङ्क्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनु भयो । हाल सङ्क्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको उहाले बताउनु भयो । कोरोना भाइरस सङ्क्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्लामा सङ्क्रमण शून्य रहेका छन् । प्रदेशका नौ जिल्लामध्ये डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित नरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी कैलालीमा २५, कञ्चनपुरमा नौ, बैतडीमा तीन, दार्चुला, डडेल्धुरा र बझाङमा एक÷एक जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये दुईजनाको सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेशन छन् । सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो । कोरोनाको सङ्क्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको ज्यान गई सकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.