मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरे

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत उद्धघाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो । पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । आर्मीले कर्णालीलाई २५–१८,२५–१० र २५–१६ को सेटमा हराएको हो । यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्नु भएको हो । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । कोभिड–१९ को संक्रमणका कारण खेलकुदका गतिविधि हुन नसकेका बताउदै मुख्यमन्त्री भट्टले अहिले संक्रमण घटेपछि खेलका गतिविधि सुरुवात भएका र भौतिक संरचना निर्माण पनि थालिएको बताउनु भयो । आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । उहाका अनुसार प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ । सदस्य सचिव सिंहले प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल हुनेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.