आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’ प्रदर्शन

 

 बिहीबार तामझामका साथ एउटा कार्यक्रम आयोजना गर्दै नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक गरियो। एउटा ब्राण्ड बनिसकेको नाम साथै मुख्य कलाकार अनमोल केसी र सुहाना थापाका कारण पनि यो फिल्मलाई प्रतीक्षित मानिएको छ। निर्माता, निर्देशक तथा कलाकारको यही टिमले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो। जुन व्यावसायिक रुपमा पनि सफल भएको थियो। तर ‘ए मेरो हजुर ४’ लाई भने त्यति सजिलो छैन। एक त कोरोनाकालपछि प्रदर्शनमा आएका फिल्मले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् साथै ‘ए मेरो हजुर ४’ का लागि ‘केजिएफ च्याप्टर २’ सबैभन्दा ठूलो अवरोध बन्ने देखिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भने यसका निर्माता सुनीलकुमार थापा वैशाख १ मै फिल्म रिलिज गर्ने र ‘केजिएफ’सँग डराएर नभाग्ने बरु डटेर सामना गर्नेमा दृढ देखिए। फिल्मका मुख्य अभिनेता अनमोलले पनि निर्मातालाई साहस दिए।

‘९ सय करोडमा बनेको चलचित्र ३ करोडमा बनेको चलचित्रसँग भिड्दैछ। मलाई अहिले नेपाल र इण्डियाको फुटबल भइरहेजस्तो लागिरहेको छ,’ कार्यक्रममा निर्माता थापाले भने, ‘हाम्रो रंगशालामा खेल भयो भने हामी नेपाली झण्डा बोकेर, नेपाली मन लिएर, हौसला बोकेर, त्यो बलियो भए पनि एक गोल छिराउँछौँ भनेर जान्छौँ नि, मलाई त्यो गर्ने आँट छ। दर्शकको साथ भए पुग्छ।’ साथै आफूले राम्रो फिल्म बनाएको र दर्शकले छ्या कस्तो फिल्म बनाएको भनेमा आफूले फिल्म बनाउनै छाड्ने दाबीसमेत उनले गरे। सुनीलकै हौसला बढाउँदै अनमोलले भने, ‘डराउनु पर्दैन दाइ, नेपालबाट प्रतिस्पर्धा गर्नका लागि क्याप्टेन इशान खड्का छ।’ हलमा ताली बज्यो, अनमोलको वाहवाही भयो।

प्रदर्शनअघि आफूले तय गरेको प्रदर्शन मितिमा जति दृढ रहे पनि चर्चित विदेशी फिल्मसँग मिति जुधेकाे अवस्थामा प्रदर्शन मिति नजिक आइपुग्दा निर्माता पछि हटेको उदाहरण धेरै छन्। थापाका कुरा सुन्दा उनी पछि नहट्ने मुडमै देखिएका छन्। यो सकारात्मक कुरा पनि हो तर फिल्म र खेल दुई फरक कुरा हुन्। जुन फ्लप फिल्मको मुख्य पात्रको उदाहरण दिएका अनमोललाई पनि थाहा छ। शुक्रबारदेखि प्रदर्शनमा आएको तेलुगु फिल्म ‘आरआरआर’को प्रदर्शनले ‘केजिएफ’को क्रेज कस्तो होला भनेर अलिअलि अनुमान लगाउन सकिन्छ। मेगा स्टारको ट्याग लागेका नेपालका सबैभन्दा महँगा अभिनेता हुँदैमा फिल्म चल्ने ग्यारेन्टी हुँदैन। अपवादबाहेक फिल्म चल्न फिल्म राम्रो नै हुनुपर्छ। बिहीबार सार्वजनिक भएको ट्रेलरलाई युट्युबमा एक दिनमै ५ लाखभन्दा बढी पटक हेरिसकिएको छ। जुन फिल्मका लागि सकारात्मक संकेत हो तर फिल्म कस्तो बनेको छ र दर्शकलाई कस्तो लाग्छ भन्ने कुरा भने वैशाख १ मै थाहा पाइनेछ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.