कैलालीको अत्तरियामा ’प्रथम मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ हुने भएको छ । अत्तरिया तेक्वान्दो डोजाङ्गको आयोजनामा यही चैत्र २४ देखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी गराएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित दुर्गा लक्ष्मी सामुदायिक वन समितिको खेल मैदानमा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ आयोजना हुने अत्तरीया तेक्वान्दो डोजाङ्गका प्रमुख ईन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आयोजक टिम गरि ६ टिमका खेलाडी विच १६ वटा तौल समूहमा पुरुष र महिला तौल गरि जम्मा ९६ जनाले प्रतिस्पर्धा गर्नेछन । एक जिल्लाबाट १६ जना खेलाडी र २ जना अफिसियल आयोजक टिम गरी जम्मा १०८ जनाको सहभागिता रहनेछ । सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्तरका १८ जना निर्णायक र ३ जना जुरीले खेल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने अत्तरीया तेक्वान्दो डोजाङ्गका प्रमुख ईन्द्र बहादुर सिंहले बताउनु भयो । उहाले अत्तरीया क्षेत्रमा तेक्वान्दोको सक्रियता बढाउने खेलाडी तथा अभिभावकलाई तेक्वान्दो खेलतिर उत्प्रेरित गराउने, लुकेर रहेका विभिन्न उमेर समूहका उत्कृष्ट तेक्वान्दो खेलाडीहरुको क्षमता विकासको अवसर प्रदान गर्ने जिम्मेवार निकायलाई आवश्यक दवाव दिई समाजमा रहेका विकृती, विसङ्गती विभिन्न कुलतबाट युवा समूहलाई टाढा राखे तालिमको माध्यमबाट स्वच्छ, निरोगी, आत्मरक्षा गर्न सक्ने राष्ट्र सेवक युवा तयार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो । उक्त प्रतियोगिताको मूख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र हस्पिटल पार्टनर पद्मा अस्पताल प्रा.लि. अत्तरीया, कैलाली रहेको छ । अन्य प्रायोजकसँग सम्झौता गर्ने क्रम जारी रहेको आयोजक अत्तरीया तेक्वान्दो डोजाङ्गले जनाएको छ ।