बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आन्न

बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन्। गत असोज ३१गते देखि कात्तिक ३ गतेसम्म परेको अवरिल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन्। राहत अनुदान स्वरुप जिल्लामा रु आठ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

धानबालीमा पुगेको क्षतिबापत सङ्घीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो। तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौं। हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ।” धान भित्रियाउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। सङ्घीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो। ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.