ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

वसन्तपुरमा रहेकेा ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गर्नुभएको हो । २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएकाे गद्दी बैठकलाई अमेरिकाको ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’ अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

लामो समयपछि खुला भएको याे ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिनुभयो ।  भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । याे कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।

त्यसैगरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित एक सय वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।

सम्बन्धित

Comments are closed.