स्थानीय तहको निर्वाचनमा तालमेल आवश्यक नभएको भन्दै विभिन्न जिल्लाहरुका स्थानीय तहमा आवाज उठ्न थाले

स्थानीय तहको निर्वाचनमा तालमेल आवश्यक नभएको भन्दै विभिन्न जिल्लाहरुका स्थानीय तहमा आवाज उठ्न थालेका छन् । सत्ता गठबन्धनबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको भनिएको भएपनि सुदुरपश्चिम प्रदेशकै विभिन्न जिल्लाका विभिन्न स्थानीय तहहरुमा तालमेल आवश्यक नरहेको भन्दै तालमेल गर्ने निर्णय अस्वीकार गर्नेक्रम बढ्दै गएको हो । यसैविच नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा चुनावी तालमेलका लागि असहमति जनाइएको छ । ‘स्थानीय अवस्था र आवश्यकताअनुरुप तालमेल गर्न सक्ने’ भन्दै गरेको नीतिगत निर्णयमा टेकेर शीर्ष तहका नेताहरुकै गृहजिल्लामा वडा र पालिकास्तरीय कार्यसममितिहरु तालमेल आवश्यक नरहेको अडानमा रहेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन् । गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो । तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिनु भयो । उहाका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन् । गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.