बैतडी जिल्लामा हालसम्म राष्ट्रिय परिचयपत्रका लागि २४ हजारभन्दा बढीको विवरण संकलन

बैतडी जिल्लामा हालसम्म राष्ट्रिय परिचयपत्रका लागि २४ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । शुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल वडास्तरमै उक्त कार्य भइरहेको छ । हाल अभियानकै रूपमा वडास्तरमा परिचयपत्र विवरण संकलनको कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनु भयो । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण संकलनमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । बैतडीको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण संकलन सम्पन्न भएको छ। डिलाशैनीमा ८ हजार ३९६ जनाको र सिगासमा ७ हजार २०६ जनाको विवरण संकलन गरिएको सूचना अधिकारी भारतीले बताउनु भयो । उहाले परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको बताउदै सिगास गाउपालिकामा ९५ प्रतिशत र डिलाशैनी गाउपालिकामा ८८ प्रतिशत सहभागी भएका जानकारी दिनु भयो । हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान शुरु भएको छ । दोगडाकेदार गाउपालिकामा २३४ र पुर्चौडी नगरपालिकामा ७३५ जनाको विवरण संकलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट ७ हजार ८५९ जनाको विवरण संकलन भइसकेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीको भनाइ रहेको छ । विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण संकलनको काम हुनेछ । बैतडीका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.