हात्तीको बथानबाट गाउँलाई जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का तीन स्थानमा विद्युतीय साइरन जडान
हात्तीको बथानबाट गाउँलाई जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा हात्ती छिरेर नोक्सान पुर्याउने भएकाले साइरन जडान गरिएको हो । साइरन बजाउनका लागि एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । सामुदायिक वन समन्वय समिति (सीएफसीसी) बाणि र तराइ भू परिधि कार्यक्रम (ताल)को सहयोगमा जंगली हात्ती नियन्त्रण पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ। साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटा लगायत तीन ठाउमा जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने हात्तीको बथानले स्थानीय किसानले खेतमा लगाएको अन्नबाली खानुका साथै प्रत्येक वर्ष मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ। साइरन जडानको कार्यले जंगली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ ।
Comments are closed.