आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी कैलालीमा मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने जनाएको हो । वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जारी गरिएको निर्वाचन आचारसंहिता अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो । बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही हुने सूचित गरिएको छ ।सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामाग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रर्दशन गर्न नहुने बताइएको छ । जारी सूचना अनुसार १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न र गराउन नहुने तथा माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीतरनाराहरू बजाउने जस्ता कार्यहरूमा पनि प्रतिबन्ध गरिएको छ । त्यस्ता क्रियाकलाप गरेको भए तत्काल रोक्न वा हटाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । कसैबाट निर्वाचन आचारसंहिता विपरितका कार्यहरू भए गरेको पाइएमा सुरक्षाकर्मीहरूको प्रयोग गरी उल्लेखित प्रतिबन्धित कार्यहरू नियन्त्रण गरिने तथा हटाउने र प्रचलित कानून बमोजिम कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिश गरिने जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी सूचनामा उल्लेख छ ।