सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् ।
फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार सरकारको यस्तो घोषणाले फिल्म निर्मातालाई राहत पुग्नेछ ।
‘फिल्म निर्माताले कमाउने आयमा ५० प्रतिशत छूट दिइएको छ । यसले महामारी प्रभावित निर्मातालाई फाइदा पुग्नेछ,’ उनले भने । सरकारको यस्तो घोषणापछि साउनपछि रिलिज हुने फिल्मलाई लाभ मिल्नेछ ।