नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतीय अभिनेता सुनिल बर्मा अनुबन्धित भएका छन् । नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् ।
अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले अनलाइनखबरसँग भनिन्, ‘उहाँले सजिलै प्रस्ताव स्वीकार्नुभयो । उहाँ भिलेन चरित्रमा देखिनुहुनेछ ।’ तेलुगू स्टार बर्माले करिअरमा १७७ फिल्ममा अभिनय गरेका छन् । मर्यादा रमन्ना, पुल रंगाडु, तड्का उनका व्यावसायिक रुपमा सफल फिल्म हुन् । ‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्ने छ । उनलाई नेपाली भाषामा पोख्त बनाउन प्रयत्न गर्ने जानकारी नीताले दिइन् ।
८ करोड रुपैयाँ बजेट बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन् । नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनाल पनि मुख्य भूमिकामा हुनेछन् । थप तीनजना कलाकारलाई अनुबन्ध गर्न बाँकी छ । आगामी दशैंलगत्तै छायांकनमा जाने तयारीमा रहेको फिल्मले तन्नेरी युवायुवतीको प्रेमकथा पेश गर्छ । मूलतः नेपाली भाषामा बन्ने ‘ह्रस्वदीर्घ’ हिन्दी भर्सनमा पनि हुनेछ ।