छिमेकी भाउजुमाथि जबरजस्ती करणी, पोल खुल्ने डरले जलाएर हत्या

गत बुधबार रातको करिब २ बजेको समय थियो। दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलका ४५ वर्षीया अनिभा खडायतको घरमा छिमेकी देवर नाता पर्ने ४२ वर्षका भोजराज खडायत ढोका ढक्ढक्याउन आइपुगे।

एकल महिला अनिभा दुई छोरीका साथमा सुतिरहेका थिइन्। भोजराजले भाउजु अनिभालाई घर बाहिर बोलाएर अलि पर लगे। घरबाट बोलाएर अलि पर ९करिब ५० मिटर० बारीमा पुर्‍याएर भाउजुलाई यौनसम्पर्कको प्रस्ताव राखे।​ अस्वीकार गरेपछि भोजराजले अनिभालाईजबरजस्ती गर्छन् र ढुंगाले टाउकोमा प्रहार गर्छन्। त्यसपछि पोल खुल्ने डरले अनिभालाई खरले छोपी आगो लगाई घरतर्फ लाग्छन्।

बिहान करिब ४ बजेतिर घरतर्फ जाँदै गर्दा भोजराजलाई अनिभाकी छोरीले देखिन्। आमालाई बोलाएको केही घण्टापछि भोजराज एक्लै फर्किएपछि उनले भोजराजलाई सोध्छिन्, ‘आमा खैरु’ अनिभाकी छोरीको प्रश्नले तर्सिएका भोजराज पोल खुल्ने डरले छोरीमाथि नै आक्रमणमा उत्रिए। भोजराजको आक्रमणबाट उम्किएकी अनिभाकी छोरी अब चिच्याउँदै गुहार माग्न थाल्छिन्।

अनिभाकी छोरीको गुहारबाट एकै ठाउँमा भेला भएका गाउँलेले नजिकै उखुबारीमा आगो दनदनी बलिरहेको देख्छन् र तत्कालै त्यहाँ पुग्छन्। ‘उनीहरूले दनदनी बलिरहेको आगोमा अनिभालाई जलिरहेको देख्छन्।

‘उनलाई बचाउन नसकिने देखिएपछि स्थानीयले हामीलाई खबर गरेका थिए’,दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। घटनाको सूचना पाएर प्रहरी घटनास्थलसम्म पुग्दा अनिभाको अधिकांश भाग जलिसकेको उनले बताए। ‘बिहान करिब ६ बजे घटनास्थलमा पुग्दा बाँया हात खुट्टा जल्न बाँकी थियो।’ उनीहरू घटनास्थलमा पुग्दा निकै दर्दनाक भएको उनले बताए।

घटनास्थलमा टाउकोमा चोट लागेको र खरको थुप्रोमा जलेको अवस्थामा महिलाको लाश भेटेको थियो। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले घटनास्थल नजिकै पुरुषले लगाउने कट्टु भेटिएपछि जबरजस्ती करणी भएको अनुमान लगाएको थियो।

डीएसपी विष्टका अनुसार पुरुषले प्रयोग गर्ने कट्टुसहित शव नजिकै चप्पल र रगत लागेको ढुंगा फेला परेको थियो। यसका कारण अपराधी पत्ता लगाउन प्रहरीलाई मद्दत पुग्यो। साथै मृतकको छोरीले दिएको बयानले अपराधीलाई पक्राउ गर्न प्रहरीलाई समय लागेन।

तर, घटना लगत्तै फरार रहेका भोजराजलाई नियन्त्रणमा लिन दार्चुला प्रहरीले सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखको निर्देशनमा प्रहरी चौकी खोचलेक बैतडीको सहयोग लिए। प्रहरीको संयुक्त टोलीले २४ घण्टा नबित्दै २६ गते फरार रहेका भोजराजलाई बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले भोजराजको साथबाट अनिभाले कानमा लगाएको सुनको बाला दुई वटा र नाकमा लगाएको सुनको नथिया बरामद गर्‍यो। साथै पर्ससहितको नगद रुपैयाँ, उनले नै प्रयोग गर्ने सादा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीको फन्दामा परेपछि भोजराजले अपराध स्वीकार गरे। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरीको मुद्दा दर्ता गरेको छ।

 

सम्बन्धित

Comments are closed.