सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९\८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको बजेटमा कृषि विकास र सडक पूर्वाधार विकासलाई पाँच अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । बाढी पहिरो प्रभावितका लागि एक अर्ब १२ करोड, खानेपानी संरचना निर्माण गर्न एक अर्ब ६७ करोड ९७ लाख, सिँचाइ र यान्त्रिकीकरणका लागि ७५ करोड, विपन्न समुदायका लागि एकीकृत बस्ती निमार्ण गर्न १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । एक अर्ब बजेटसहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम नयाँ कार्यक्रम आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय सरकारअन्तर्गत सशस्त्र, जनपथ प्रहरीका पूर्वाधार निर्माण, कारागारमा, सीमा सुरक्षामा रकम विनियोजनलाई निरन्तरता दिइएको छ । यस्तै खेलकुद क्षेत्रको विकासका लागि १६ करोड २० लाख, सीपमुलक तालिम सञ्चालन गर्न ४ करोड समेत गरेर शिक्षा, स्वास्थ्य, खेलकुद, श्रम तथा रोजगार क्षेत्रका लागि ६ अर्ब ७८ करोड रुपैया बजेट छुट्याइएको छ । सुरक्षा निकायतर्फ भौतिक पूर्वाधार निर्माण, सुरक्षाकर्मीको दक्षता अभिबृद्धि गर्ने जस्ता कार्यलाई प्रथामिकतामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय भवन निर्माणको कार्य पूरा गर्न १२ करोड, विभिन्न जिल्लामा प्रहरी कार्यालयका भवन निर्माण गर्न ६ करोड रुपैया, सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रहरी कार्यालय र ५ वटा कारागार मर्मत सम्भार गर्न एक करोड ६७ लाख रुपैया, मुख्य राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ४ करोड रुपैया, पत्रकारिता क्षेत्रको क्षमता अभिबृद्धिका लागि एक करोड २० लाख रुपैया विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा खप्तडलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा भौतिक पूर्वाधार निर्माण गर्न तीन करोड रुपैया, स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न आवश्यकताअनुसार बजेट छुट्याउने जस्ता कुरालाई समेत प्राथमिकतामा राखेको छ ।
Comments are closed.