कैलालीको धनगढीस्थित खोलानालामा भएको अतिक्रमण हटाउने काम सुरु गरिएको छ । खोलानालामा अतिक्रमणका कारण डुबानको समस्या बढ्दै गएकाले कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो । अतिक्रमण हटाउने कार्यको सुरुवात धनगढी उपमहानगरपालिका–५ को तारानगरस्थित बालबिहानीबाट सुरु गरिएको छ । अतिक्रमित क्षेत्र डोजर लगाएर खाली गराइएको छ । सुकुटीनाला अतिक्रमण हुँदा पानीको निकास सहज छैन । खोलानाला क्षेत्रमा विभिन्न संरचना बनाइएका छन् । खोलानाला अतिक्रमण गरी संरचना बनाइएपछि पानी रोकिएर धनगढीको पार्क क्षेत्र, एलएनचोक, ऐश्वर्य विद्या निकेतन क्षेत्रलगायतका ठाउँमा पानी जम्ने समस्या रहेको बताइएको छ । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण रहेकाले डुबान समस्या समाधानका लागि अतिक्रमण हटाउन थालेको कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताउनुभयो । उहाले आफ्नो ठाउँमा भएको अतिक्रमण खाली गरेर सहयोग गरिदिन नगरवासीलाई अनुरोधसमेत गर्नुभयो । खोलानाला अतिक्रमण गरी प्राकृतिक बहावलाई रोक्ने कार्य भएकाले डुबान समस्या समाधानका लागि अतिक्रमित क्षेत्र खाली गराउन आवश्यक रहेको मेयर हमालले बताउनुभयो । खोलानालामा भएको अतिक्रमण हटाउने धनगढी उपमहानरपालिकाको अभियानको नगरवासीले स्वागत गरेका छन् । डुबान समस्याबाट छुटकारा पाउन अतिक्रमण हटाउन आवश्यक रहेकोे उहाँहरुको भनाइ छ ।