सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक पनि स्थगित..

सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो । प्रदेश सरकारको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ । यसअघि, असार ८ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

प्रदेश सभा सदस्यहरुबाट चर्को विरोध हुने संकेत देखिएपछि सरकारको आग्रहमा बैठक असार १२ गते सारिएको थियो । फेरि अर्को बैठक असार १६ गते बोलाइएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताउनुभयो । उहाँकाअनुसार बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि सदनमा पेश गरेको बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले पेश गरेको बजेटमा सत्तापक्षका प्रदेश सभा सदस्यहरुले नै असन्तुष्टि जनाउँदै आउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बजेटको मर्मविपरित रहेको उहाँहरुको आरोप छ । यसैबीच, बजेट संशोधनको माग गर्दै सामाजिक विकासमन्त्री गोविन्द बोहरासहित सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु काठमाडौं जानुभएको बताइएको छ ।

सम्बन्धित

Comments are closed.