सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङ्ग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले १९ लाख ८० हजार रुपैयामा अत्याधुनिक मेसिन ल्याएको हो । डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ । खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको कञ्चनपुर परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो ।
उहाले प्रदेशमै पहिलोपटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका र मेसिनको मद्दतले एक घण्टामा एक बिघा खेतमा बर्खे र चैते धान सहजरूपमा रोप्न सकिने ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको बताउनु भयो । धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन ।
कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नुपर्दैन । चालु आवमा मेसिनलाई परीक्षणका रूपमै सञ्चालन गर्ने , कार्यालय प्रमुख रिमालले किसानको प्रतिक्रिया लिएर अर्को आवदेखि कार्यालयबाटै करारमा चालकको व्यवस्था गरी किसानलाई थोरै शुल्क लिएर मेसिन उपलब्ध गराइने योजना बनाउँने बताउनु भयो ।
चितवनलगायतका ठाउँमा धान रोप्ने मेसिनको प्रयोग सहजरूपमा भइरहेको देखेपछि किसानलाई धान रोप्नमा सहजता ल्याउनका लागि र किसानलाई आधुनिक कृषियन्त्रप्रति आकर्षित गराउनका लागि मेसिन ल्याइएको उहाँले जानकारी दिनुभयो ।