सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न…..

सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०\४०, कैलाली र बाजुरामा ३५\३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता छ । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता पानी पर्न सुरु भएपछि रोपाइँ गर्ने क्रम बढ्न थालेको प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सुदूरपश्चिममा असार पहिलो हप्ताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भर पर्नु पर्दा बल्ल रोपाइँको काममा लागेको डोटीको शिखर नगरपालिका २ का रामबहादुर दडीवानाले बताउनुभयो ।

डोटीको दिपायल, सिलगढी, कालागाढ, जोरायल, बीपीनगर, बर्छैन, बडीकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरा लगायतका क्षेत्रमा अहिले रोपाइँ गर्न भ्याइनभ्याइ भएको किसानहरू बताउँछन् ।

सुदूरपश्चिममा ७३ हजार ६ सय १७ हेक्टर जमिनमा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको मात्रै सुविधा रहेको छ ।रासायनिक मलको अभावले पनि यहाँका किसानलाई समस्या छ । यस वर्ष यहाँका किसानले विना मल रोपाइँ गर्न बाध्य भएको विक्रमबहादुर थापाले बताउनुभयो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.