अछामको बिनोद शाहीको हत्या आरोपमा १० जना माथि मुद्दा दायर भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नं. –४ का १५ वर्षीय शाहीको हत्या आरोपमा १० जना माथि मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जना माथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ । यस्तै फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ । दानमति जिल्ला समन्वय समितिको उपप्रमुख हुन् । पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउने सहित नेत्र बहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएको छैन् । सरकारी वकिल कौशल ढुंगानाले उनीहरु माथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको अधिवक्ता कृष्ण ढुंगानाले जानकारी दिनु भएको छ । उनका अनुसार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा घटना भएको बेला मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएकाले उनीहरु घटनामा संलग्न नरहेको प्रमाण नपुग्ने ठहर गर्दै उनीहरु माथि मुद्दा नचल्ने निर्णय सरकारी वकिले गरेका छन् । पीडित पक्षले उनीहरु ३ सहित १३ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । गत जेठमा घर बाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।
Comments are closed.