सुदूरपश्चिम प्रदेशमा खेतबारीमा रोग नलागोस् र बाली नालीको उत्पादन बढोस् भन्दै कुरिलो, मेल लगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ । ह¥यालो हाल्ने भन्नाले कुरिलो, मेल लगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझ्ने गरिन्छ ।
साउनको महिना देवी देवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर ह¥यालो हाल्ने गरिएको छ । देवी देवता शयन गर्ने भएकाले बाली नालीमा रोग नलागोस् भनेर हर् हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दान दक्षिणा दिने पनि गरिन्छ ।
यस्तै साउनमा खीर पकाएर खाने तथा बिहे गरेर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यसका साथै असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकोले जिउलाई सफा सुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ ।
गाउँघरमा यो दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालि सकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुर डाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ । शहर बजार तिर भने छोरीचेलीलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने प्रचलन छ ।
यस दिनदेखि सूर्यको गति दक्षिण तिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउन महिनालाई पवित्र महिना मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजा आराधना गर्छन् ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.