डोटी जिल्लाको स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितण समेत रोक्ने निर्णय गरेका छन् ।
केआईसिंह गाउपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालय सम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनु भएको छ ।
वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासी संगको छलफल पश्चात् उक्त निर्णय गरिएको उनको भनाइ छ । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसार पसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नु पर्ने निर्णय समेत गरेको वडा कार्यालयले जनाएको छ ।
यसैगरी आदर्श गाउपालिकाले यही साउन १ गते देखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसार पसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ ।
यसैगरी मदिरा सेवन गर्नेलाई पहिलो पटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।
सायल गाउपालिकाले पनि आफ्ना पालिका भरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउपालिकाका अध्यक्ष धर्मराज जोशीले जानकारी दिनु भएको छ ।
जिल्लामा नौ वटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।
कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकोले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिनु भएको छ ।