दिपायलमा बसपार्क निर्माण कार्य अलपत्र

डोटीको दिपायलमा दुई दशक भन्दा अगाडि देखि निर्माण गरिने भनिएको दिपायल बसपार्क अझै सम्म बन्न सकेको छैन ।

दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माणका लागि २७ वर्ष अगाडि पाच रोपनी जग्गा किनेको थियो । तर बसपार्क निर्माण नभएपछि गाडी पार्किङमा समस्या हुदै आएको छ ।

दिपायलमा गतिलो बसपार्क नहुदा यातायात व्यवसायीले वर्षौ देखि मूल सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । जसका कारण यो सडक हुदै अछाम, बाजुरा जाने रात्रिकालीन बसहरुलाई समस्या पर्ने गरेको छ ।

दिपायल पिपल्लाका स्थानीय बासी तथा व्यवसायी खडक बहादुर शाही भन्नुहुन्छ ’नगरपालिकाले बसपार्क बनाउन किनेको जमिन अलपत्र छ । यातायात व्यवसायीले सडकमै गाडी पार्किङ गर्ने गरेका कारण दिनमा यात्रु र राति रात्रिकालीन बस सञ्चालनमा समस्या हुदै आएको छ ।’

नगरपालिकाले बसपार्क बनाउनका लागि खरिद गरेको जमिन गौचरणमा परिणत भएको छ । २०५२ सालमा नगरपालिकाले १ लाख ९० हजार रुपैयामा दिपायलका स्थानीय वासीबाट ५ रोपनी जमिन प्रतिव्यक्ति ३८ हजार रुपैयँका दरले किनेको थियो ।

त्यतिबेला नगरपालिकाले बसपार्क निर्माणका लागि ८ लाख ९० हजार रुपैया खर्च गरेर चारै तिर बाट घेरबार समेत गरेको थियो । तर पछि साघुरो हुने भन्दै निर्माण कार्य अगाडि नबढाइएको नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताउनु भयो । उहाले भन्नुभयो, ’साघुरो हुनेभएपछि काम बन्द भयो, अहिले बसपार्क निर्माणका लागि पहल भए पनि जमिन नपाउदा काम अगाडि बढ्न सकेको छैन ।’

दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काले डोटीमा गाडीको चाप थपिदै गएकाले दिपायलमा किनिएको जमिनमा बसपार्क बनाउदा साघुरो हुने बताउनु हुन्छ । उहँले राजपुरमा बसपार्क निर्माणका लागि प्रकृया सुरु भइरहेको उहँले बताउनु भयो । उहाले भन्नुभयो, ’गाडीको संख्या दिनहु थपिदै गएको छ, दिपायलमा किनिएको ५ रोपनी जमिनले नपुग्ने भयो, राजपुरमा नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डीपीआर भइसकेको छ।’

नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डीपीआर गरिए पनि राजपुरमा बसपार्क बनाउदा सबैलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले नै विरोध गर्न थालेपछि यो कार्य पनि अन्योलमा परेको बताइएको छ । अहिले नगरपालिकाले दिपायल पिपल्लामा रहेको निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गर्दै आए पनि बसपार्कमा मुस्किलले १० देखि १२ वटा मात्रै बस अट्ने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.