सुदूरपश्चिम प्रदेश सरकारले सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधनको सुविधा दिन ऐन संशोधनको तयारी गरेको छ । त्यसका लागि सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक ल्याएको छ ।
आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले आइतबार बसेको प्रदेशसभाको बैठकमा उक्त संशोधन विद्येयक टेबल गरेका छन् । सभामा छलफल भएपछि पारित भएमा संशोधन विद्येयक कार्यान्वयनमा आउनेछ ।
यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा पाउदै आएकोमा अब सरकारले ल्याएको संशोधन विद्येयक पारित भए सत्ता पक्षमा रहेका सबै संसदीय दल र विपक्षी दलको प्रमुख सचेतकले पनि उक्त सुविधा प्राप्त गर्नेछन् ।
जस अनुसार अब सरकारमा प्रतिनिधित्व गर्ने तीन दल नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले चालक सहित गाडी र इन्धनको सुविधा पाउनेछन् ।
थप पदाधिकारीलाई सवारी साधन उपलब्ध गराउनु पर्ने भएकाले ऐन संशोधन गर्नु परेको प्रदेश सरकारले जनाएको छ । यसअघि सत्ता पक्षको सचेतकको हैसियतमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल बहादुर रावलले गाडी सुविधा लिइ रहेकोमा संशोधन विधेयकमा सरकारमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक सुविधा दिने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले ल्याएको संशोधन विधेयक पारित भएर लागु भए सेवा सुविधाका नाममा राज्यलाई व्ययभार थपिने छ । यसअघि १९ वैशाख २०७८ मा प्रदेशको मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गरेर सत्ता पक्षको सचेतक र विपक्षी दलको प्रमुख सचेतकलाई प्रदेशसभा सचिवालयले गाडी सुविधा उपलब्ध गराएको थियो ।
तर महालेखा परीक्षकको चौथो प्रतिवेदनले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुचित रुपले ऐन संशोधन गरेको र अनूचित ढंगले ऐनको दफा ६ मा व्यवस्था नै नगरेको प्रावधान ल्याइएको औल्याएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयले प्रदेशसभा सचिवालयले ती दुई पदाधिकारीका लागि एसयुभी गाडी खरिदमा एक करोड ६ लाख र दुई चालकलाई दुई महिनाको पारिश्रमिक भुक्तानी गरेको उल्लेख महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । अब यो संशोधन ऐनले प्रदेश सरकारको उक्त निर्णयले समेत वैधता पाउनेछ ।
प्रदेशसभा सचिवालयका अनुसार अहिले सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टी, माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल बहादुर रावल र प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले गाडी सुविधा लिइरहका छन् । सचिवालयले अब तत्काललाई सत्तारुढ नेपाली कांग्रेसकी अम्बि कुमारी थापाका लागि गाडी खरिद गर्नु पर्ने छ ।