अखिल नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो भेला सम्पन्न भएको छ । शुक्रवार कैलालीको धनगढीमा संगठनका प्रदेश अध्यक्ष ललित मल्लको अध्यक्षता र अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव नरहरि नाथ योगीको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
यस्तै, सम्मेलनमा अखिल नेपाल यातायात मजदुर संघ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रामचन्द्र कार्की, कार्यालय सदस्य दीपक के.सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय जगदीश सेठ्ठी, बम बहादुर कठायत, सुन्दर के. सी, आयोजक कमिटी सदस्य रमेश गुरुङ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री सार्वजनिक यातायात, लगायत यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरूका बारेमा छलफल समेत गरिएको जनाइएको छ । उक्त सम्मेलनले बेद प्रसाद शेरचनको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा देवराज भट्ट र तुलसी राना, सचिव टेक ब. ऐर, सह–सचिव इन्द्र बहादुर. विश्वकर्मा, कोषाध्यक्ष छबिलाल लामिछानेलाई चयन गरिएको छ ।
Comments are closed.