शुक्लाफाटामा पाटे बाघको संख्या दोब्बर

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या दोब्बरले बढेको छ । पाटे बाघको संख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको संख्या आठ रहेको छ ।

बाघको बास स्थानमा सुधार संगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको संख्या बढेको बताइएको छ । सन् २०२२ भित्रै बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको र यो निकै ठूलो उपलब्धिका प्राप्त भएको निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरले बताउनु भयो । गत वर्षको माघ २९ देखि २१ ीदन सम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।

शुक्लाफाटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रिडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको संख्या आठ वटा मात्रै रहेको थियो । त्यो संख्या बढेर अहिले ३६ पुगेको छ ।

अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

सम्बन्धित

Comments are closed.