बैतडीमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार जिल्लामा थप तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनु भएको छ ।
झुलाघाट नाकामा गरिएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका एक जना र बाजुराका एक जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला अस्पतालमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको लेखकले बताउनु भएको छ ।
यो संगै जिल्लाभरी सक्रिय संक्रमितको संख्या १८ पुगेको छ । दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिकामा २ जना, दोगडाकेदार गाउपालिका, सिगास गाउपालिका र सुर्नया गाउपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएकोले स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । फेरी एक पटक कोरोना संक्रमण समुदाय स्तर सम्मै फैलने खतरा रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताउनु भएको छ ।