कैलालीमा छाडा पशु चौपायाको गोबर संकलन गरेर दुई सय घनमिटरको गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । टीकापुर नगरपालिका वडा नं. २ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका पशु चौपायाको गोबर बाट गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो ।
नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापन गरेर गोबर ग्यास प्लान्टको स्थापना गरेको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको जनाइएको छ । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग रहेको जनाइएको छ ।
गोबर ग्यास प्लान्ट बाट उत्पादन भएको ग्यास पाइप मार्फत नजिकैको सीतापुर बस्तीको ५५ घरमा पुर्याएर मिटर सहित चुल्हा जडान भइसकेका छन् । गौशालामा करिब एक हजार गाईगोरु रहेका छन् । ती मध्ये तीन सय जति गाई टहरामा राखिएका छन् । टहरामा राखिएका गाई र बाच्छा बाच्छीको सफा गोबर हरेक बिहान प्लान्टमा हाल्ने गरिएको छ ।