बैतडीमा विद्यालय समायोजनका लागि थप अध्ययन गरिने

बैतडीमा विद्यालय समायोजनका लागि थप अध्ययन गरिने भएको छ । पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गर्न लागेको हो । पालिकाका तर्फ बाट स्थलगत अध्ययन र अनुगमन गरेपछि विद्यालयहरुलाई मर्ज गर्ने, तह घटाउने लगायतका निर्णयहरु भएको नगरपालिकाका कार्यवाहक प्रमुख कमल सिंह बोहराले बताउनु भयो ।

बुधबार बसेको नगर शिक्षा समितिको बैठकमा विद्यालयहरुलाई मर्ज गर्नका लागि थप स्थलगत अध्ययन र अनुगमन गर्नु पर्ने आवश्यकताका बिषयमा छलफल भएको थियो । यसअघि नगर शिक्षा समितिले गरेका निर्णयलाई कार्यान्वयनमा लैजानका लागि स्थलगत अनुगमन गर्ने र सोही प्रतिवेदनका आधारमा विद्यालयहरु मर्ज गरिने कार्यवाहक प्रमुख बोहराले बताउनु भयो ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यालयहरुलाई मर्ज गर्ने, विद्यार्थी संख्याका आधारमा तह घटाउने लगायतका निर्णय भएका थिए । विद्यालयहरुमा स्थलगत अनुगमन गर्न अबको दुई तीन महिना लाग्ने बताइएको छ । यस्तै आवश्यकता आधारमा विद्यालयहरुमा नगर स्वयंसेवक शिक्षक समेत राख्ने तयारी भएको छ । विद्यालयहरुमा पठन पाठन क्रियाकलापलाई प्रभावकारी बनाउन आवश्यकताका आधारमा शिक्षक नियुक्त गरिने बोहराले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.