कञ्चनपुरको शुक्लाफाटा नगरपालिका – ११ स्थित बनहरा सिगास टोल हरेक वर्ष बर्खामा बनहरा नदीमा आउने बाढीले डुबानमा पर्ने गरेको छ । पानी पर्न थालेपछि रातभरी जाग्राम बस्नु पर्ने कुरा सुकुमवासी टोलका दल बहादुर बोहोराले बताउनु भएको छ । २०६२ साल देखि डडेल्धुरा, अछाम बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायतका क्षेत्रबाट विभिन्न कारणले बिस्थापित भएका भूमिहीन सुकुमवासीहरु सिगास टोलमा आएका छन् ।
हरेक वर्ष नदीमा आएको बाढी र डुबान बाट बच्न घर छोडेर उचो भागमा गएर ज्यान जोगाउनु पर्ने अवस्था आउने गरेको कुरा बोहोराले बताउनु भएको छ । रेडक्रस लगायत केही गैर सरकारी संस्थाले खान र लगाउन सहयोग गर्नाले बँच्ने आधार भएको उनको भनाइ छ । २०७१ सालमा सुकुमवासीको आवास, शिक्षा, खाद्य अधिकार सुनिश्चित गर्न तथा सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न माग राख्दै सरकारलाई ध्यानाकर्षण पत्र दिए पनि कुनै सुनुवाइ नभएको उहाले बताउनु भएको छ ।
सरकारले नदी तटबन्धको व्यवस्थापन गरिदिए मात्र पनि बाढी र डुबानको चिन्ता बाट मुक्त हुन सकिने उनको भनाइ छ । शुक्लाफाटा नगरपालिकाका प्रमुख रण बहादुर महराले सुकुमवासीको गँस, बास र कपासको व्यवस्था संघ सरकारले गर्नुपर्ने बताउनु भएको छ । नगरपालिकाले उनीहरुको जीविको पार्जनका लागि दाल चामलको सहयोग गरि रहेको उनको भनाइ छ ।
Comments are closed.