महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश, कैलालीको गेटामा देशको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापना भएको छ । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो ।
यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ । देशमा १९७२ मा त्रिभुवन युनिभरसिटी अन्तर्गत ईन्सिच्युट आफ मेसिसिन स्थापना भए पछि चिकित्सा शिक्षाको अध्ययन शुरु भयो ।
तर ५३ वर्षसम्म सुदूरपश्चिम सधैं यो सुविधाबाट वञ्चित रहेको थियो । देश भरिमा २१ वटा मेडिकल कलेज, ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र १५० वटा बिएस्सी नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन पढाउने संस्थाहरु हुँदा पनि सुदूरपश्चिम यसबाट वञ्चित भैरहेको थियो ।
३०० शैय्याको अस्पताल सञ्चालनगरि आगामी सत्रबाट एमबिबिएस कोर्ष र अर्को वर्ष थप ३०० सहित ६०० शैय्याको अस्पताल सञ्चालनगरि मास्टर्स तहका डाक्टर अफ मेडिसिन (एमडि) र मास्टर अफ सर्जरी (एमएस)कोर्ष सञ्चालन गर्ने बाटो खुलेको छ ।
स्वास्थ्य उपचारको क्षेत्रमा हिमाल देखि तराई सम्म सबैको र अल्पसंख्यक समुदायहरु शौका समुदाय देखि थारुसम्मको परम्परागत, मौखिक, आयुर्वेदिक र जडीबुटीमा आधारित उपचार पद्धतिका साथै यस विश्वविद्यालयले नवीनतम विषयको शोध, अनुसन्धान आविष्कारको केन्द्र बन्नु पर्ने देखिन्छ ।
Comments are closed.