भोटेकोशी बाढीमा बेपत्ता पदम सिंह सावदको काँशकुशको शव बनाएर अन्त्येष्टि

महेन्द्रनगर । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका कञ्चनपुरको वेदकोट नगरपालिका–५ का पदम सिंह सावदको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले काँशकुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका सावदको खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले धार्मिक परम्पराअनुसार मंगलबार महाकाली नदीमा अन्त्येष्टि गरेको हो।

मृतकका मामा रमेशप्रसाद बोहराका अनुसार विगत दुई महिनादेखि भान्जाको खोजी गरिए पनि उहाँको अवस्था र शवबारे कुनै जानकारी प्राप्त हुन सकेन। लामो समयसम्म खोजी गर्दा पनि भान्जाको कुनै पत्तो नलागेपछि बाध्य भएर काँशकुशको शव बनाई धार्मिक विधिअनुसार अन्त्येष्टि गर्नुपरेको उहाँले बताउनुभयो।

बाढीमा बेपत्ता भएका सावद ट्रक चालकका रूपमा काम गर्दै आउनुभएको थियो। बाढी आउन लागेको थाहा पाएपछि उहाँ भागेको जानकारी प्राप्त भए पनि त्यसपछि सम्पर्कमा आउन नसकेको परिवारजनले बताएका छन्। बाढीबाट जोगिन खोज्दा पनि उहाँको अवस्था अज्ञात रहनुले परिवारलाई थप पीडा दिएको छ।

सावदको बेपत्ताले परिवारमा ठूलो बज्रपात परेको छ। १० वर्षीया छोरीसहित वृद्ध आमाबुवाको सहारा गुमेपछि परिवार शोकमा डुबेको छ। परिवारका सदस्यको अवस्था पत्ता लगाउन दुई महिनासम्म प्रतीक्षा गर्दा पनि कुनै खबर नपाएपछि अन्ततः धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्नुपरेको आफन्तले बताएका छन्।

परिवारका लागि प्रिय सदस्यको अभाव अपूरणीय बनेको छ। आफन्तको खोजीमा बितेका दुई महिना, फर्केर आउने आशा र अन्ततः प्रतीकात्मक शव बनाएर गर्नुपरेको अन्त्येष्टिले परिवारलाई गहिरो पीडामा पारेको छ। घटनापछि वेदकोट नगरपालिका–५ को गाउँ नै शोकमग्न बनेको छ।

बाढीमा बेपत्ता भएका सावदको अवस्था अझै अज्ञात रहेकाले परिवारले लामो समयसम्म अनिश्चितता र पीडा भोग्नुपरेको छ। शव फेला नपरेपछि गरिएको प्रतीकात्मक अन्त्येष्टिले परिवारलाई धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार पूरा गर्ने आधार दिएको छ।

सम्बन्धित

Comments are closed.