सुदूरपश्चिममा अहिलेसम्मकै ठूलो मात्रामा खैरो हिरोइन कञ्चनपुरमा बरामद

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा लागूऔषध कारोबारको अहिलेसम्मकै सबैभन्दा ठूलो पर्दाफास कञ्चनपुरको पुनर्वासमा भएको छ । पुनर्वास नगरपालिका–६ मा रहेको सम्राट होटलको एउटा कोठाबाट शुक्रबार साँझ २ सय ७३ ग्राम खैरो हिरोइन बरामद गरिएको हो ।

गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटलमा छापा मारेको थियो ।

प्रहरीले होटलको कोठाबाट पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बि.सी. र दार्चुलाको महाकाली नगरपालिका–३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई नियन्त्रणमा लिएको छ ।

सोही कोठामा कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा खैरो हिरोइन फेला परेको हो । पक्राउ परेका दुबै जनामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सुरक्षा स्रोतकाअनुसार घटनाले सुदूरपश्चिममा सक्रिय ठूला लागूऔषध तस्करी सञ्जालको संकेत दिएको छ ।

प्रहरीकाअनुसार यो सफलता लागूऔषध नियन्त्रणको दिशामा एक महत्वपूर्ण उपलब्धि हो ।पक्राउ परेका दीपक बि.सी. नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुनुका साथै युवा परिषद्को कञ्चनपुर जिल्ला अध्यक्ष समेत हुन् ।

एक राजनीतिक दलसँग आवद्ध व्यक्तिको नाम लागुऔषध प्रकरणमा जोडिनु राजनीतिक वृत्तमै ठूलो चासोको विषय बनेको छ । बि.सी. स्वयं कारोबारी थिए कि महरासँगको भेटले मात्र अनुसन्धानमा तानिए ? भन्ने विषयमा प्रहरी अनुसन्धानपछि मात्रै स्पष्टता आउने छ ।

सुरक्षा निकायकाअनुसार सुदूरपश्चिममा सक्रिय लागूऔषध गिरोहहरू पछिल्लो समय राजनीतिक पहुँच भएका व्यक्तिहरूलाई समेत प्रयोग गर्न थालेका संकेत देखिएका छन् ।

सम्बन्धित

Comments are closed.