वेदकोटमा न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिकाबारे एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा वडा स्तरमा रहेका मेलमिलापकर्ता, वडा समिति तथा न्यायिक समिति बीच न्यायिक समितिको क्षेत्राधिकार र न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिकाबारे एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तुलसी जोशीको सभाध्यक्षता रहेको थियो । यसैगरी, वडा अध्यक्ष वडा सदस्यज्यूहरू लगायत मेलमिला कर्ता न्यायिक समितिका पदाधिकारी ज्यूहरू कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

न्यायिक समितिको आयोजनामा स्थानीय तहमा हुने सामान्य विवाद समाधानका लागि मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने, न्यायिक समितिको कार्यक्षेत्रबारे जानकारी गराउने तथा समुदायस्तरमै विवाद समाधानको वातावरण सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो ।

प्रशिक्षणका क्रममा सहभागीहरुलाई न्यायिक समितिमा आउने उजुरी व्यवस्थापन, मेलमिलाप प्रक्रिया, कानुनी प्रावधान, निष्पक्ष सुनुवाइ तथा स्थानीय स्तरमै विवाद समाधानका उपायबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले मेलमिलापकर्ताहरूले समाजमा शान्ति, सद्भाव र आपसी समझदारी कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

स्थानीय स्तरमै विवाद समाधान हुँदा समय, खर्च र झन्झट कम हुने भएकाले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा वडा स्तरका मेलमिलापकर्ता, जनप्रतिनिधि, वडा समिति सदस्य तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

न्यायिक समितिले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । उक्त कार्यक्रम प्रत्येक वडामा सञ्चालन गरिने भएको छ ।

सम्बन्धित

Comments are closed.