कञ्चनपुरमा १६ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइयो

महेन्द्रनगर । कञ्चनपुरमा १६ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। एकल महिलाको अधिकार, सम्मान र सशक्तीकरणका विषयमा केन्द्रित उक्त कार्यक्रममा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रममा सभा अध्यक्ष जानकी देवी जोशीको अध्यक्षता रहेको थियो भने, प्रमुख अतिथिका रूपमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी सहभागी हुनुभएको थियो।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा उपप्रमुख निलम लेखक जोशी को उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले एकल महिलाले समाजमा भोगिरहेका चुनौतीहरू, उनीहरूको अधिकार सुनिश्चितता तथा आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए।

उनीहरूले एकल महिलाको सम्मानजनक जीवनयापनका लागि राज्य तथा स्थानीय तहबाट थप सहयोग र अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एकल महिलाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूबीच एकल महिलाको अवस्था, समस्या र समाधानका उपायबारे अन्तरक्रिया गरिएको थियो।कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गर्दै एकल महिलाको हकहित संरक्षण तथा सशक्तीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

सम्बन्धित

Comments are closed.