मछली नदीको किनारमा जैविक तटबन्धन र वृक्षारोपणले कटान नियन्त्रणमा राहत

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीमा मछली नदीले गर्दै आएको कटान नियन्त्रण गर्न स्थानीयवासीले जैविक तटबन्धन निर्माण गरेका छन् । नदीको बाढीका कारण खेतीयोग्य जमिन कटान भएर बगरमा परिणत हुन थालेपछि स्थानीयको सक्रियतामा जैविक तटबन्धन, वृक्षारोपण तथा तारको सुरक्षा घेरा निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुर, जनहित महाकाली सामुदायिक वन उपभोक्ता समूह र नेपाल राष्ट्रिय समाज कल्याण संघलगायतका संस्थाको आर्थिक सहयोगमा उक्त क्षेत्रमा कटान नियन्त्रणका विभिन्न कार्य सञ्चालन गरिएका हुन् । नदीको बहावका कारण वर्षौंदेखि खेतीयोग्य जमिन कटान हुँदै आएको क्षेत्रमा करिब ६ हजार विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको छ । साथै, नदीको बहाव र कटानको प्रभाव कम गर्ने उद्देश्यले जैविक तटबन्धन निर्माण तथा वृक्षारोपण गरिएका क्षेत्रमा तारको सुरक्षा घेरासमेत लगाइएको छ ।

नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगर बनाएपछि स्थानीय किसानहरूलाई खेतीपाती गर्न समस्या हुँदै आएको थियो । उर्वर जमिन नदीको कटानमा परेपछि स्थानीयको जीविकोपार्जनमा समेत असर परेको थियो । नदीको कटान नियन्त्रणका लागि परम्परागत संरचनाभन्दा वातावरणमैत्री उपाय अपनाउने उद्देश्यले जैविक तटबन्धन र वृक्षारोपणलाई प्राथमिकता दिइएको हो ।

स्थानीयवासीका अनुसार जैविक तटबन्धन निर्माण र वृक्षारोपणपछि पछिल्लो समय नदीले गर्ने जमिन कटान तथा पटानमा कमी आएको छ । यसले वर्षौंदेखि नदीको जोखिममा रहेका स्थानीयलाई केही राहत मिलेको छ ।

स्थानीय प्रेमबहादुर महताले विगतका वर्षहरूमा मछली नदीमा आउने बाढीले ठूलो मात्रामा जमिन कटान गर्ने गरेको बताउनुभयो । नदीको कटानका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुँदै जाँदा स्थानीयले निकै समस्या भोग्नुपरेको उहाँको भनाइ छ । तर, अहिले निर्माण गरिएको जैविक तटबन्धन, वृक्षारोपण र तारको सुरक्षा घेराले नदीको कटान नियन्त्रणमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

उहाँले जैविक तटबन्धन निर्माण भएपछि विगतको तुलनामा जमिन कटान कम भएको र स्थानीयवासीलाई ठूलो राहत मिलेको उल्लेख गर्नुभयो ।

स्थानीयस्तरमै उपलब्ध स्रोतसाधन र विभिन्न संघसंस्थाको सहयोगमा गरिएको यस्तो वातावरणमैत्री प्रयासले नदी कटान नियन्त्रणसँगै हरियाली प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके नदी आसपासका खेतीयोग्य जमिन संरक्षण हुनुका साथै स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

सम्बन्धित

Comments are closed.