जापानमा रहेका समाजसेवी विनय प्रकाश मल्लद्वारा ३५ परिवारलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका–४ तल्लो खलंगामा जन्मनुभएका हाल जापानमा रहनुभएका समाजसेवी विनय प्रकाश मल्लले ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

विजया दशमी तथा शुभ दीपावलीको पावन अवसर पारेर मल्लले अमरगढी नगरपालिका–१० का गरिब, विपन्न, अशक्त, असहाय तथा सहाराविहीन ३५ परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण गर्नुभएको हो । उहाँले व्यक्तिगत पहल तथा आफ्नै खर्चमा वास्तविक समस्यामा रहेका परिवारलाई लक्षित गरी खाद्यान्न सहयोग गर्नुभएको हो ।

सहयोगस्वरूप प्रत्येक परिवारलाई चामल, दाल, नुन, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको जनाइएको छ । चाडपर्वको समयमा आर्थिक अभावका कारण दैनिक छाक टार्नसमेत समस्या भोगिरहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको हो ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै मल्लले गरेको सहयोगले विपन्न परिवारमा खुसी थपिएको छ । चाडपर्वको समयमा प्राप्त खाद्यान्न सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।

मल्लले उक्त सहयोग वास्तविक पीडित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्‍याउन सहजीकरण र विशेष सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, समाजमा रहेका असहाय, विपन्न तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको सन्देशसमेत उहाँको यस सामाजिक कार्यले दिएको छ ।

विदेशमा रहेर पनि आफ्नो गाउँठाउँ र जन्मभूमिका नागरिकको दुःखमा साथ दिने मल्लको यस मानवीय सहयोगलाई स्थानीयस्तरमा सकारात्मक सामाजिक कार्यका रूपमा लिइएको छ ।

सम्बन्धित

Comments are closed.