रेभ.डा. नरिराम लुहार ‘विनोद’लाई गृहजिल्लामा भव्य स्वागतसहित सम्मान

महेन्द्रनगर । जिल्ला इसाई समाज डडेल्धुराले समाजसेवी, लेखक तथा १३ पटक विश्व कीर्तिमान कायम गर्न सफल रेभ.डा. नरिराम लुहार ‘विनोद’लाई गृहजिल्लामा भव्य स्वागतसहित सम्मान गरेको छ।
जिल्ला इसाई समाज डडेल्धुराको आयोजनामा शुक्रबार सम्पन्न विशेष कार्यक्रममा डा. लुहारलाई समाज तथा इसाई समुदायमा पुर्‍याएको योगदान, परोपकारी कार्य र विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो।


डा. लुहारले हालसम्म १३ पटक विश्व कीर्तिमान कायम गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ३२ भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। उहाँले समाजसेवा, परोपकार र सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला इसाई समाजका कार्यवाहक अध्यक्ष करन कैनीले जानकारी दिए।

नेपालका विभिन्न जिल्ला तथा प्रदेशमा सम्मानित हुँदै आउनुभएका डा. लुहारलाइ गृहजिल्ला डडेल्धुरामा पनि सम्मान गरिएको कैनीले बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासी गरी करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले डा लुहारले समाज र समुदायका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँको कामबाट सबैले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

वक्ताहरूले डा. लुहारको संघर्ष, सफलता, सेवाभाव र निरन्तरको सामाजिक सक्रियता नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उहाँको योगदानको खुलेर प्रशंसा गरेका थिए। समाज परिवर्तनका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने र उहाँको जीवनबाट धेरै कुरा सिक्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा सम्मानित व्यक्तित्व रेभ. डा. नरिराम लुहार ‘विनोद’ले सम्मानप्रति आभार व्यक्त गर्दै आयोजक जिल्ला इसाई समाज, उपस्थित अतिथि तथा सहभागी सबैलाई धन्यवाद दिए।सम्बोधनका क्रममा उनले आफूले प्राप्त गरेका उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई समाज, समुदाय र राष्ट्रका लागि केही सकारात्मक योगदान पुर्‍याउने उद्देश्यसँग जोडिएको बताए।

जीवनमा सफलता हासिल गर्न निरन्तर मेहनत, धैर्य, अनुशासन र दृढ इच्छाशक्ति आवश्यक पर्ने उल्लेख गर्दै उनले कुनै पनि काम सानो वा ठूलो नहुने र सकारात्मक सोचका साथ अघि बढे असम्भव देखिने कामसमेत सम्भव हुने धारणा व्यक्त गरे।
उनले समाजमा रहेका हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सकेको सहयोग र योगदान गर्नुपर्नेमा जोड दिँदै आपसी सद्भाव, एकता, प्रेम र सहयोगको भावना विकास गर्न सबैलाई आग्रह गरे। विशेषगरी युवापुस्तालाई समयको सदुपयोग गर्दै ज्ञान, सीप र क्षमताको विकासमा लाग्न तथा समाजका लागि उदाहरणीय काम गर्न उनले हौसला प्रदान गरे।

डा। लुहारले सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराउनुका साथै आगामी दिनमा पनि समाजसेवा र समुदायको हितमा निरन्तर काम गर्ने प्रेरणा मिलेको बताए। उनले गृहजिल्लामा पाएको माया, सद्भाव र सम्मानप्रति खुसी व्यक्त गर्दै आयोजक संस्था तथा उपस्थित सम्पूर्णप्रति पुनः आभार प्रकट गरे।

गृहजिल्लामै भव्य स्वागत र सम्मान प्राप्त गरेपछि कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो। डा. लुहारको सामाजिक योगदान, उपलब्धि र सेवाभावको प्रशंसा गर्दै सहभागीहरूले उहाँको आगामी यात्राको सफलताको कामनासमेत गरेका थिए।

सम्बन्धित

Comments are closed.